कतार पुग्यो नेपालको पानी ‘रसुवा’, हेर्नुस् कति पर्छ मुल्य..
झण्डै २० महीना लामो पहलपछि नेपालमा उत्पादित पानीको मध्यपूर्वको कतारमा निर्यात शुरू भएको छ। रुद्रगंगा नेचुरल वाटर प्रालिले उत्पादन गरेको ‘रसुवा’ ब्रान्डको पानीलाई दोहाको बजारमा बिक्री शुरू गरिएको
खाडी देशका लागि आधिकारिक वितरक बनेको न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीका प्रबन्ध निर्देशक बीबी खरेलले जानकारी दिएका हुन्।
पहिलो चरणमा काठमाडौंबाट करीब तीन हजार चार सय किलोमिटर टाढा (हवाई दूरी) को दोहासम्म जहाजमा हालेर लगभग आठ टन पानी पुर्याइएको छ।
पानीको परिमाण क्रमशः बढाउँदै लैजाने उनले बताए। कतारमा पानी परीक्षण, सरकारी निकायबाट प्रमाणीकरण तथा आवश्यक स्वीकृति पाएपछि बिक्री शुरू गरिएको खरेलले जानकारी दिए।
कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीका अनुसार रसुवा ब्रान्डको पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।
कम्पनीले एक वर्षअघि, सन् २०२१ फेब्रुअरीमा पहिलो निर्यात गरेको थियो। चीनका वितरकले धेरै वटा प्रदर्शनी र मेलामा सहभागी गराए। सबै ठाउँबाट राम्रो प्रतिक्रिया आयो।
नेपालमा पानी प्रशोधन गरेर बेच्ने उद्योग धेरै छन्। बजारमा अनेक ब्रान्डको पानी पाइन्छ। आम उपभोक्ताले कुन चाहिँ राम्रो हो भनेर छुट्याउन सक्ने हुँदैन। भण्डारी उपभोक्ताले चिटिक्क बोतल मात्र नहेरेर, पानीको गुणस्तर र कुन भेगको पानी पिउने हो भनेर छान्नुपर्ने बताउँछन्।
हाल कम्पनीले मासिक २५ देखि ३० लाख लिटर पानी आन्तरिक बजारमा बिक्री गर्छ। कम्पनीले हालसम्म कम्तीमा ७० हजार डलरको पानी निर्यात गरिसकेको छ। उद्योगको उत्पादन क्षमता विस्तार गर्ने र नयाँ प्रविधि भित्र्याउने योजना रहेको भण्डारीले बताए।
केही समयदेखि चीन, हङकङ, जापान, अस्ट्रेलिया, दुबई कतार लगायत अन्तर्राष्ट्रिय बजारमा पानीको निर्यात भइरहेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा जाने भएकाले बोतलको डिजाइन, लेबलिङ पनि उच्च स्तरको छ ।’ उनले स्वच्छ हिमाली क्षेत्रको पानी स्वदेशी र विदेशीलाई खुवाउने र पानीको माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यले उत्पादन गरेको बताए ।