बलिउड अभिनेता शाहरूख खानको घर मन्नतमा दुई व्यक्ति जबरजस्ती छिरेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार बिहीबार दुई व्यक्ति पर्खालबाट शाहरूखको घरमा छिरेका थिए। त्यही शाहरूखका सुरक्षाकर्मीले उनीहरूलाई समाते पुलिसलाई बुझाएका थिए।
मुम्बई पुलिसले उनीहरूसँग सोधपुछ गरेको थियो। सोधपुछको क्रममा उनीहरू शाहरूखको फ्यान भएको बताएका थिए। उनीहरू शाहरूलाई भेट्न भनेर गुजरातबाट आएका थिए।
मुम्बई पुलिसले उनीहरूविरूद्ध कसैको निजी सम्पत्तिमा बिनाकारण छिरेको उजुरी दर्ता गरेको छ।
‘दुवै जनाले आफू शाहरूखको फ्यान बताएका छन्। उनीहरू शाहरूखलाई निकटबाट हेर्न गएका थिए। हामीले उनीहरूको परिवारलाई सम्पर्क गरिसकेका छौं। गुजरात पुलिस कार्यलयमा उनीहरूको कुनै आपराधिक रेकर्ड छ कि छैन भनेर जाँच भइरहेको छ,’ एक प्रहरी अधिकारीले भने।
अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ ले विश्वभरबाट १ हजार करोड भारूभन्दा बढी ग्रस कलेक्सन गरेको छ। यसैवर्ष उनको फिल्म ‘जवान’ र ‘डंकी’ प्रदर्शन हुँदैछ।