काठमाडौं । नेकपा एमालेले बोलायो सचिवालय बैठक बोलाएको छ । अहिले बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बोलाइएको सो पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनका अनुसार पार्टीको ग्रासरुट अभियानबारे छलफल गर्न बैठक बोलाइएको हो । तर अर्का एक नेताले दिएको जानकारीअनुसार नेकपा एमाले अब सरकारमा बस्नु हुँदैन भन्ने मत बढ्दो छ त्यसै विषयमा पनि छलफल हुनेछ ।
यसअघि आइतबार बेलुका परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले थप आक्रोशित छ ।
एमालेमा राष्ट्रपति निर्वाचनसम्म सरकारमा रहने र अहिले नै बाहिरिने भन्ने दुईथरी मत छ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको जानकारी दिएका छन् ।
राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः उठेको छ ।