आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्यमध्ये एक थिइन्, रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ की सृजना हुङचुङ मगर ।
विमान दुर्घटनामा एयर होस्टेज सृजनाको पनि मृत्यु भएको खवरपछि अहिले गृहनगर सैनामैना परोहा शोकमा डुबेको छ । २९ वर्षीया उनी ८ वर्षदेखि सोही एयरलाइन्समा एयर होस्टेजको रुपमा कार्यरत थिइन् ।
उनी गत दशैँ भन्दा एक हप्ता अगाडि बिदामा घर पुगेकी थिइन् । सृजनाका मामा एकबहादुर गाहाका अनुसार उनी तीन दाजुभाइकी एक्ली चेली थिइन् ।
‘दशैँ अगाडि आउँदा भान्जीलाई अब विवाह गर्नुपर्यो भनेर मैले सोधेँ’ एकबहादुरले लोकान्तरसँग भने, ‘सबैको रहर पूरा गर्ने गरी घरबाट विवाह गर्ने हो । सबैलाई नचाउने हो भन्नुभएको थियो । त्यो भान्जीको सपना र रहर अपुरै भयो ।’
शालिन र भद्र सृजनालाई घरमा सबैले सृजु भनेर बोलाउँथे । भदौ अन्तिम सातातिर सृजना भाइ कमल बिरामी हुँदा पनि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएम) आएर तीन/चार दिन बसेकी थिइन् । सम्पूर्ण उपचार खर्च तिरेर भाइलाई घर पठाएपछि मात्रै उनी आफू काठमाडौं फर्किएकी थिइन् ।