चितवन, २१ पुस । मृतक युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको आरोपमा भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको आरोपमा अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीको आरोप छ ।मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीले जनाएको छ । राइको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले अनुसन्धान गरेको थियो।नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित केराबारीमा यही पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँको भानु नगरपालिका वडा नंं.२ घर भई हाल जिल्ला चितवन भरतपुर– १ बस्ने वर्ष ३७ का सञ्जिव बहादुर रायमाझी घाईते भई भरतपुर अस्पतालमा उपचार गराउदा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको शव अस्पतालकै आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखेको बेला हातमा लगाएको सुनको ब्रासलेट चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रवक्ता विजयराज पण्डितले पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढेको जानकारी दिनुभयो ।