काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ ।
बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच कडा टक्कर हुने देखिएको छ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक रहनुभएको छ । यस्तै, महामन्त्री थापाको उम्मेदवारीमा नेता डा. शेखर कोइराला प्रस्तावक र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ । संस्थापन ईतरले थापालाई सर्वसम्मत रुपमा अगाडि सारेको हो ।
निर्वाचन प्रचारकै क्रममा थापाले आफूले संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको थियो । इतर पक्षका नेता डा. कोइरालाको साथ पाएका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले समेत साथ दिएपछि सम्भावना उच्च भएको छ ।
गगन थापा संसदीय दलको नेता चुनिएमा कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुने छ ।