काठमाडौँ मंसिर २९ ,
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालका कम्युनिस्ट र कांग्रेस पार्टीबीच नाम मात्र फरक भएको अरू केही फरक नभएको बताएका छन्।
अर्जुन आचार्यले आफ्नो ट्विटरमा फुटबल खेलाडी मेस्सीले मुठ्ठी उचालेको तस्बिर राख्दै उनले लाल सलाम गरेको ठानेर नेपालका कम्युनिस्ट पार्टीले समानुपातिकमा त राख्दैनन् भनेर गरिएको व्यंग्यमा बाँस्कोटाले यहाँ कम्युनिस्ट र कांग्रेसबीच नामबाहेक कुनै भिन्नता नभएको टिप्पणी गरेका हुन्।
‘म कसरी जान्नु उनी कम्युनिस्ट हुन् वा होइनन् भनेर’, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बाँस्कोटाले लेखेका छन्, ‘तर नेपालमा कम्युनिस्ट–कांग्रेसमा खासमा केही पनि फरक छैन। खाली पार्टी र नेताका नाम फरक लाग्छ मलाई।’
१३ कम्पनी कालोसूचीमा
सरकारले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो।
कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न नपाउने बताइएको छ। कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।