काठमाडौं, असोज २८ : विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त रेग्मी, न्यायाधीशहरू शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको लगायतका आरोप उनीमाथि छ ।
सम्पत्ति शुद्धीकरण विभागले गत भदौ १६ गते विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियाे । जिल्ला अदालतले थुनामा राख्न आदेश दिएपछि थुनामा रहेका उनी विशेष अदालत पुगेका थिए । विशेष अदालतले पनि थुनामै राख्न आदेश दिएको हाे ।
उनीविरुद्ध विशेषमा ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबीसहितको मुद्दा दायर भएकाे हाे । विभागले तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
तामाङको मुद्दा रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा पेसी रहेको छ। अन्य प्रतिवादीहरू प्रतिक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, विभागले प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौँका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ ।