बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
लामिछानेलाई म्याद थपका लागि प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । योसँगै लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिन सुरु गरेको छ ।
म्याद थपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताए । लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएको घिमिरेले बताए । जाहेरवालाले म १९ वर्षको भएँ भनेर इजलास समक्ष भनेको वकिल घिमिरेले जानकारी दिए । त्यस्तै इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेको वकिल घिमिरेले जानकारी दिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको उनको भनाई छ ।
त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका गरिएको उनको भनाई छ ।
पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ ।