१४ बैशाख, धुलिखेलः काभ्रेको पाँचखाल नगरपालिकाले आइसोलेसन पुनः सञ्चालनमा ल्याएको छ । जटिल कोरोना संक्रमितको संख्या बढ्न सक्ने भएकाले १५ बेडको आइसोलेसनलाई पुनः सञ्चालन गरिएको मेयर महेश खरेलले जानकारी दिनुभयो ।
समाजकल्याण प्राविको भवनमा १५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । विगत लामो समयदेखि बन्द रहेको विद्यालयमा नगरपालिकाले आइसोलेसन सञ्चालन गरेको हो । अघिल्लो पटक नगरपालिकाले २५ वेडको आइसोलेसन सञ्चालन गरेको थियो । गएको मंसिर महिनासम्म पनि कोरोना संक्रमितलाई त्यहि राखेर उपचार गरेको थियो । यो पटक पनि अवस्था हेरेर वेड संख्या बढाउने नगरपालिकाले जनाएको छ ।
यो आइसोलेसनमा प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका डाक्टरले बिरामीकाे हेरचाह गर्ने छन् भने नगरपालिकाभित्रका ११ वटा स्वास्थ्य चाैकीका स्वास्थ्य कर्मी आलोपालो खटिने ब्यवस्था मिलाइएको छ । आइसोलेसनका लागि स्वास्थ्य कर्मीको ड्यूटी समेत निर्धारण गरिसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अमन दत्तले बताउनुभयो । ‘अहिले त्यो आइसोलेसनमा कोभिडका विरामी त हुनुहुन्छ, तर पनि हामीले स्वास्थ्यकर्मीको ड्यूटी निर्धारण गरिसकेका छौँ, डाक्टर दत्तले भन्नुभयो ‘जुन सुकै बेला पनि अवस्था जटिल बन्न सक्ने भएकाले तयारी अवस्थामा बसेका हौँ ।’
मेयर खरेलले आइसोलेसनमा पर्याप्त स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मी खटिएको बताउनुभयो । पाँचखालमा पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।