काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाए ।
मन्त्री बनेदेखि नै बिना मगरले दशैंमा मेलम्चीको पानी काठमाडौं झार्ने बताउँदै आइन् । एक दशैं, दुई दशैं त्यत्तिकै बिते । अब तेस्रो दशैं आउनुअघि नै बिना मगरले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।
बिनाका ससुरा प्रचण्ड र प्रधानमन्त्री ओलीको झगडाले बिना मगरको खाइपाई आएको मन्त्री पद त गुमेको नै छ, सँगसँगै बिना मगरले दशैंमा पानी आउने भनेर दिने गरेको गफ समेत झूटा पुष्टि भएको छ ।
मेलम्चीको पानी काठमाडौं कहिले आउँछ ? कुनै ठेगान छैन । बिना मगर मन्त्री भएकै बेला निर्माण कम्पनी भाग्ने, कमिसन मागेको आरोप लाग्ने, कमसल काम हुँदा जनधनको क्षति हुने जस्ता प्रकरण सार्वजनिक भए ।
मेलम्चीको पानी परीक्षणका लागि गत असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ । सुरुङको निर्माण गुणस्तरहीन रहेको आशंका गरिएको छ । आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न सकिने संकेत छैन ।
मेलम्चीको पानी काठमाडौं ल्याएको श्रेय आफ्नो पोल्टामा पार्न तम्सिएकी बिना मगरले रित्तो हात घर फर्किनुपरेको छ । मेलम्चीको सफलता आफ्नो नाममा लेखाउने बिना मगरको सपना बीचमै तुहिएको छ ।
युवा अवस्थामै मन्त्री हुने अवसर पाएकी बिना मगरले के गरिन् ? सन्तोषजनक जवाफ आउने देखिँदैन । कुनै काम गरेको देखिएको छैन । मिडिया डबली