काठमाडौं । दुई अर्बको सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने काभ्रेपलाञ्चोकका एक पुरुषका परिवार विरुद्ध समेत मुद्धा परेको छ ।
दुई अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो तथा सट्टेबाजी कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रेपलाञ्चोकका मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगाका परिवार र पूर्वप्रेमी विरुद्ध पनि मुद्धा दायर भएको हो । उनको आपराधिक कामबाट आर्जन भएको सम्पति परिवारको समेत नाममा भेटिएको छ । त्यसपछि उनलाई मात्रै नभएर परिवार सम्मलाई मुद्धा परेको हो । जिल्ला अदालत भक्तपुरले गत साता उनलाई सट्टेबाजी र सम्पति सुद्धिकरणसम्बन्धी मुद्धामा जेल चलान गरेको थियो । प्रहरीले १२ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ ।
जसमा उनका परिवारका सदस्य, पूर्व प्रेमिका र साथीहरू समेत छन् । सो मुद्दामा ११ जनालाई फरार प्रतिवादी बनाइएको छ । जसमा काभ्रेकै अच्युत नेपाल, राजीव ठकुरी, मनबहादुर तामाङ, विष्णुप्रसाद ढुंगाना, अस्मिता ढुंगाना तथा सीतादेवी ढुंगाना छन् । विष्णुप्रसाद अनिलका बुबा, सीतादेवी आमा र अस्मिता उनकी बहिनी हुन् । अपराधिक क्रियाकलापबाट आर्जन गरेको सम्पत्ति उनीहरूको नाममा राखेको भेटिएपछि परिवार समेत घटनामा मुछिएका हुन् ।
उनको बैंक खाताबाट बुबाको खातामा ३१ लाख तथा बहिनीको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको थियो भने आमाको नाममा भक्तपुरको सूर्यविनायकमा जग्गा खरिद गरेका थिए । अच्युत, राजीव र मनबहादुर उनीसँग मिलेर अनलाइन सट्टेबाजी धन्दामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसैगरी काठमाडौं– १ की आरती गुरुङ, मोरङका राजन पोखरेल, झापाका धीरेन सापकोटा, मोरङका अर्विन मेहता र नुवाकोटका विवेक रिमाललाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूमध्ये आरती उनको पूर्वप्रेमिका भएको र उनले एक करोड रुपैयाँ जग्गा किन्न भनेर लगेर फिर्ता नगरेको अभियुक्त ढुंगानाको भनाई छ । अनुसन्धानको क्रममा आरतीको सातवटा बैंक खातामा उनीबाट नौ करोड चार लाख ४४ हजार रुपैयाँ जम्मा भएको थियो । आरती पनि हाल फरार छिन् ।