काठमाडौँ : नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरको सडक प्रायः अस्तव्यस्त नै रहन्छ । त्यसमाथि ट्राफिक चिह्नहरू मर्मत र चुस्तदुरुस्त नहुँदा सडक प्रयोगकर्ता जहाँसुकै जरिबाना तिर्नुपर्ने बाध्यतामा पर्छन् । विशेषतः एकतर्फी सडक, लेन प्रस्ट नहुँदा चालकले हातमा ट्राफिक प्रहरीको कारबाहीको ‘चिट’ पाएपछि मात्रै गल्ती गरेको थाहा पाउँछन् । त्यसै गरी तीव्र गतिमा चलाउने, ट्राफिक नियम पालना नगर्ने, पैदलयात्रुलाई बाटो काट्न नदिने पनि प्रशस्तै छन् । सडकका खाल्टाखुल्टी र ट्राफिकको जरिबानाको दोहोरो प्रताडनामा नागरिक पर्ने गरेका छन् ।
सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारीले गल्ती गर्न प्रेरित गर्ने मानसिकताका कारण दुर्घटना निम्तिने गरेको बताए । २० महिना ट्राफिक प्रहरी महाशाखाको नेतृत्व गरेका अधिकारीले दण्ड दिने मानसिकताले सडकमा नउभिन सुझाव दिए । उनले सुधारको भावनाले उभिएमा क्रमशः सुधार हुने र सडक प्रयोगकर्ताले पनि ट्राफिकप्रति भरोसा गर्ने भनाइ राखे । उनले भने, “सडक प्रयोगकर्तालाई सचेत बनाउने जिम्मेवारीप्रति ट्राफिक प्रहरी सधैँ दृढ र प्रतिबद्ध रहनु पर्छ । जरिबाना गरेर मात्रै सडक दुर्घटना न्यूनीकरण र सुरक्षा हुँदैन ।”
लेखक दाहालले गल्ती नगर्न सचेत गराउनेभन्दा गल्ती गर्न प्रेरित गरेर दण्डित गर्ने र जरिबाना असुल गर्नेमै अहिलेको सुरक्षा संयन्त्र रहेको दाबी गरे । उनले भने, “मुख्य चोकमा बसेर यो एकतर्फी सडक हो भन्नुको सट्टा बिचमा कुरेर बसेर समात्ने र जरिबाना गर्ने प्रक्रियाले नागरिकलाई सहज हुँदैन ।”
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरीले नियतवश जरिबाना नगर्ने बताए। उनले गल्ती गरेपछि चालकले पनि स्वीकार नगर्ने र सम्झाइ बुझाइ गर्दा पनि नभएपछि मात्रै कारबाही गरिने प्रस्ट पारे ।
उनले भने, “मानवीय स्वभाव हो, आफ्नो गल्ती कसैले पनि स्विकार्दैन । सडक प्रयोगकर्ता, चालक, पैदलयात्री र ट्राफिक प्रहरीले पनि व्यवहार राम्रो राख्ने प्रयत्न गर्नु पर्छ । हामी सडक व्यवस्थित गर्न र नागरिकको सुरक्षाका लागि सम्झाउने बुझाउने प्रयास गर्र्छौं र कानुनविपरीत गर्नेमाथि कारबाही गर्छौं ।”