१८ साउन, काठमाडौं । काठमाडौंको शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसमा महिला र पुरूष मृत फेला परेका छन्।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
आज शुक्रबार १२ बजेसम्म खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्। उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।
मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।