१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमाग (ब्रेन)मा दाग देखिएको छ ।
सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत पाइलट शाक्यको ब्रेनमा दाग देखिएको अस्पतालले जनाएको छ । अब एमआरआई गरेपछि उक्त दागबारे विस्तृत पत्ता लाग्ने छ । यस्तै, शाक्यको ‘रिब्स र स्पाइन फ्र्याक्चर’ भएको छ ।
फ्र्याक्चर भए पनि यताउति नभएकोले त्यसमा धेरै खतरा भने नरहेको बताइएको छ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा शाक्य घाइते भएका थिए ।
शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त छ । उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम जारी छ ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको छ । आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि म्याचिङ गरी आफन्तको जिम्मा लगाइने अस्पतालले जनाएको छ । शव अत्यधिक रुपमा जलेका कारण एउटा शव पोष्टमार्टमका लागि चार घण्टा समय लागेको अस्पतालले जनाएको छ ।
हिजो बिहान त्रिभुवन विमानस्थलबाट ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।