काठमाडौँ – त्रिशूली नदीमा बेपत्ता भएका दुवै बस र यात्रुहरूको खोजी कार्य आज पनि जारी छ।
गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा दुई बस र त्यसमा सवार यात्रुहरू हराइरहेका छन् । जसको खोजी कार्य आज पनि बिहान ७ बजेबाट नै शुरु भएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हालसम्म उपलब्ध सबै स्रोत साधनको प्रयोग गरेर बस र यात्रुहरूको खोजी कार्य भइरहेको छ। बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म १२ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत भएको छ भने सात जनाको सनाखत हुन बाँकी छ ।
यसैबीच आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरूले भारत र बङ्गलादेशका अधिकारीहरूसँग सम्पर्क गरी सहयोग मागेका छन् ।
उनीहरूलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको अधिकारीहरूले जनाएका छन् ।
काठमाडौँबाट रौतहटका लागि छुटेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा गरी ६५ जना यात्रु सवार थिए।