काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय चःमतिमा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री डा। मुकुल ढकाल कालो टेप लगाएर उपस्थित भएका छन् । आफूले बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री डा। ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका हुन् ।
बिहान साढे आठ बजेदेखि सुरु केन्द्रीय समिति बैठक डा। ढकालले प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले आफ्नो मागको सुनवाइ नगरेको उनको आरोप लगाउँदै उनी मुखमा कालो टेप लगाएर उपस्थित भएका हुन् ।
महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी सङ्कटपूर्ण अवस्थामा रहेको ३२ पृष्ठ लामो प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ ।
प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाई मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरण सोधेपछि उनले आफूमाथि लगाइएको आरोपबारे केन्द्रीय समिति बैठकमा धारणा राख्ने र त्यो बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गरेका थिए ।
ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको हो ।