गर्मीमा धेरैजसो मानिस सफ्ट ड्रिङ्क वा चिसो पेय पदार्थ पिउन रुचाउँछन् । कतिले त तिर्खा लाग्दा पानीको विकल्पमा पनि कोल्ड ड्रिङ्क पिउने गर्छन् ।
यसलाई पिउनाले केही समयका लागि ताजा महसुस त गराउँछ तर लामो समय सेवन गर्दा शरीरलाई हानि पुर्याउन सक्छ । चिनी आफैँमा अस्वस्थकर खानेकुरा हो ।
झन् त्यो तरल रूपमा रूपान्तरण हुन्छ भने अझ बढी हानिकारक हुने पोषणविद्हरू बताउँछन् । कोल्ड ड्रिङ्कमा चिनी र क्यालोरीको मात्रा धेरै हुन्छ ।
त्यसकारण, तिनीहरूलाई नियमित रूपमा पिउनु वा अत्यधिक मात्रामा सेवन गर्नु राम्रो नभएको चिकित्सकहरू बताउँछन् ।
–गर्मीमा तिर्खा मेटाउन मानिसहरू कोल्ड ड्रिङ्क पिउने गर्छन् । कतिपयले डाइट कोकलाई स्वास्थ्य मानेर पिउने गर्छन् । तर दुवै प्रकारका पेय पदार्थमा कार्बनडाइअक्साइड, चिनी र क्याफिन हुन्छ, जसले धेरै पिसाब उत्पादन गराउँछ र शरीरमा पानी कम गरेर डिहाइड्रेसन हुन्छ ।
–कोकाकोला जस्ता कोल्ड ड्रिङ्कमा त्यस्ता तत्त्व हुन्छन्, जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कोकाकोलालाई गाढा खैरो रङ्गको बनाउन मिथाइलिमिडाजोल भन्ने रसायन प्रयोग गरिन्छ । यो रसायनमा क्यान्सरको कारक तत्त्व हुने अमेरिकन हार्ट एसोसिएसनले उल्लेख गरेको छ ।
–कोल्ड ड्रिङ्कमा क्याफिन हुन्छ । जसलाई एक पटक पिएपछि फेरि तलतल लाग्छ । कोल्ड ड्रिङ्कले शरीरमा डोपामिनको स्तर पनि बढाउँछ । यो हार्मोनले खुसीको अनुभूति गराउँछ । जसकारण पटक– पटक पिउन मन लाग्छ र त्यसको लत नै बस्छ ।
–कोल्ड ड्रिङ्कले मिर्गौलामा पनि नराम्रो प्रभाव पार्छ । जब शरीरमा चिनीको मात्रा अत्यधिक हुन्छ, मांसपेशीहरूले यो चिनीलाई पूर्ण रूपमा प्रयोग गर्न सक्दैनन्, जसकारण मिर्गौलाले पिसाबको माध्यमले शरीरबाट त्यो चिनीलाई बाहिर निकाल्ने प्रयास गर्छ ।
यसकारण प्यास मेटाउनको लागी यस्ता पिए पदार्थहरूको सेवन सकेसम्म नगर्नुहोस् ।