नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ ।
सम्भवत: भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ । पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी भिटामिन र खनिज लवणहरूको स्रोत हो । यसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा हुन्छ । भेडे खुर्सानीको हल्का पिरोपना यसमा भएको एल्कलाइड ‘कैप्सिसिन’ को कारणले हुन्छ ।
कैप्सिसिन एउटा शक्तिशाली अल्कलाइड हो जुन मानिसका स्वाद कोशिकाद्वारा सजिलैसँग अनुभव गर्न सकिन्छ । यसले मुख तथा आमाशयका श्लेष्मिक झिल्लीलाई उत्तेजित गर्दछ र पाचक रस निकाल्ने व्रियालाई बढाउँछ । कैप्सिसिनको प्रयोग आयुर्वेदिक र होमियोपेथिक औषधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सीडेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ ।
भेडे खुर्सानीकाे औषधीय गुण के हाे ? भेडे खुर्सानीको सेवनले ठन्डी, दम, श्वासप्रश्वास प्रणालीमा समस्या र अर्वुद रोगसंग लड्ने क्षमता बढाउँदछ । भेडे खुर्सानीमा के के पाइन्छ ? भेडे खुर्सानी पोषिलो फल तरकारी हो । यो खुर्सानी भिटामिन “ए” र “सी” मा निकै धनी छ । भेडे खुर्सानीकाे प्रयाेग कसरी गरिन्छ ? नेपालमा भेडे खुसार्नीको हरियो फलको प्रयोग गरिन्छ । भेडे खुर्सानीको सलाद, पकाएको तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यसको बासना र स्वाद धेरैलाई मीठो लाग्दछ ।
जानौं भेडे खुर्सानीका फाइदाहरू: मेटाबोलिज्म बढाउनमा मद्दत गर्छ: तौल घटाउने सोच भएकाहरूका लागि भेडे खुर्सानीको सेवन निकै लाभदायक हुन्छ । यसमा क्यालोरी नगन्य मात्रामा हुन्छ जसले तौल घटाउनमा मद्दत गर्छ । यसले मेटाबोलिज्मको प्रक्रियालाई सक्रिय बनाउँछ । एन्टी अक्सीडेन्ट गुण: भिटामिन ए र सीले भरिपूर्ण भेडे खुर्सानी एन्टी अक्सीडेन्ट्सको राम्रो स्रो पनि हो । साथै मुटुसँग सम्बन्धित रोग, दम र मोतियाविन्दुबाट पनि बचाउनमा मद्दत गर्छ ।
क्यान्सरबाट बचाउँछ: भेडे खुर्सानीको सेवनबाट क्यान्सरको कोषलाई विकसित हुन दिदैँन । भेडे खुर्सानीको प्रयोग दिनहुँ कुनै न कुनै रुपले गर्नुपर्छ । भेडे खुर्सानीको सेवनले क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । दुखाईमा राहत: भेडे खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले छालाको दुखाईलाई स्पाइनल कोड सम्म जान दिदैँन । साथै यसमा पाइने तत्व प्राकृतिक पेनकिलर समान काम गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: भिटामिन सी ले भरिपूर्ण भेडे खुर्सानीले संक्रामक रोगहरूसँग लड्न मद्दत गर्छ । साथै शरीरमा रोग–प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न पनि भेडे खुर्सानी उपयोगी हुन्छ । भेडे खुर्सानीको नियमित सेवनले फोक्सोको इनफेक्शन, दम जस्ता समस्यामा पनि राहत मिल्छ ।