नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एलिना चौहान बेहुली बनेकी छिन् । झापाको विर्तामोडमा रहेको एक पार्टी प्यालेसमा गायिका चौहानले बाग्लुङका बिष्णु सापकोटासँग बिबाह गरेकी हुन् । गायिका चौहान र अष्ट्रेलियामा रहँदै आएका बाग्लुङका बिष्णुबिच केही समयदेखि प्रेम सम्बन्ध थियो । उनीहरुले, आज प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेका हुन् ।
गायिका चौहानलाई लिन बाग्लुङबाट बिष्णु मंगलबार नै झापा पुगेका थिए । आज नै एलिनालाई बाग्लुङमा भित्राउने तयारी बिष्णुको छ । बिहेमा परिवारका सदस्य, आफन्त र केही गायक–गायिका सहभागी छन् । केही महिना अगाडि अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा पुग्दा एलिनाको बिष्णुसँग भेट भएको थियो । यसपछि, यी दुई प्रेम सम्बन्धमा रहेका हुन् ।
तर, केही महिना अगाडि यी दुइबिच ब्रेकअप भएको खबर पनि सार्वजनिक भयो । तर, एलिनाले आफूहरुको ब्रेकअप कहिले पनि नभएको बताउँदै आएकी छिन् । एलिना र बिष्णुलाई बैबाहिक जीवनका लागि धेरै धेरै बधाई ।