हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।
आज (आइतबार) दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘आइतबार बिहान मौसममा सुधार जस्तो देखिन्छ । सफा जस्तै हुनेछ’, उनले भने, ‘१२–१ (दिउँसो) बजेपछि वर्षाको सम्भावना छ ।’ काठमाडौंमा आज दिउँसो करिब १२ बजेदेखि बदली (आकाशमा बादल लाग्ने) को सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार दिउँसो २–३ बजे आसपासदेखि वर्षा हुन सक्ने उनले उल्लेख गरे । ‘लगभग १२ बजेदेखि बदली र २–३ बजेतिर पानी पर्ने जस्तो देखिन्छ’, उनले भने । हल्कासम्म वर्षा हुने र त्यो निरन्तर नहुने उनको भनाइ छ ।