काठमाडौं । २०६२ सालमा गायक बन्छु भनेर काठमाडौं आउँदा भूपू पाण्डेलाई संघर्षको यात्रा लामो र कठिन होला भन्ने लागेकै थिएन । केही समय संगीत पढेर गायक बन्ने अनि मान्छेको नजरमा परिहालिन्छ भन्ने उनको सोचाइ थियो । तर सपना र यथार्थबीच आकाश पातालको फरक हुन्छ भन्ने कुरा उनले काठमाडौं आएपछि संघर्षको मैदानमा उत्रिंदा चाल पाए ।
हुन त उनको सुरुवाती सपना अभिनेता बन्ने थियो । अभिनेता पनि हिरो होइन, चरित्र अभिनेता । किनकि उनलाई हिरोमा आफूलाई कसैले लिंदैन भन्ने लाग्थ्यो रे । यो सपना पूरा गर्न पनि सकस देखेपछि उनले बीचमै तुहाइदिए । अनि अर्को सपना पूरा गर्न संगीत सिके, पढे । एल्बम नै निकाले तैपनि श्रोताको नजरमा पर्न सकेनन् । भूपूलाई संगीतप्रेमी श्रोता-दर्शकबीच चिनिन सन् २०१८ सम्म कुर्नुपर्यो, जतिबेला उनले ल्याएका थिए- ‘छोटो छ जिन्दगी’ ।
हुन त सन् १०१६ मै एकल सांगीतिक एल्बम ‘मायावी’ निकालेका उनी त्यसमै संग्रहित ‘ओइ चम्पा’ पनि चलेकै थियो तर उनी ‘नोटिस्ड’ हुने गरी चिनिएका थिएनन् । उनको टर्निङ प्वाइन्ट भने ‘छोटो छ जिन्दगी’ बनेर आयो । कक्षा ६ मै हुँदा बुवाको दुई हजार रुपैयाँ चोरेर गाउँकै दाइहरुको लहलहैमा लागेर पढाइ बीचमै छाडेर उनी भारत समेत गएका थिए । पैसा कमाउने, रंगीन टिभीमा छानी छानी फिल्म हेर्ने सपना देखाएका थिए ‘दाइ’हरुले । तर त्यहाँ गएर भूपूले उनकै शब्दमा ‘छोटू’ काम गरे । अर्थात् घरेलु कामदार । पछि आमाको करले फेरि नेपाल आएर उनले पढाइलाई निरन्तरता दिंदै टुंगोमा पुर्याए पनि ।
भूपूका गीतमा युवाका कथा, बेरोजगारी, वैदेशिक रोजगारीका पीडा समेटिएका हुन्छन् । यसमा उनले बाल्यकालमै देखेको संसारले पनि भूमिका खेलेको हुनसक्छ । यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका भूपूले आफ्नो वास्तविक नाम भूपेन्द्रबहादुर पाण्डे रहेको बताए । तर नाम लामो लागेकाले सांगीतिक क्षेत्रमा पहिचान बनाउन सजिलो हुने लागेर ‘भूपू’ राखेको खुलाए ।
भूपूको भर्खरै सार्वजनिक गरेको गीत ‘पीरैपीर’ अहिले निकै रुचाइएको छ । अर्थात् भनौं भाइरल नै भइरहेको छ । ‘खासमा यो गीत यति चल्छ होला भनेर सोचेकै थिइनँ । बेरोजगार युवाको मनोदशाबारे गीत तयार गरेको थिएँ, भिडियो पनि गाउँघरमा गएर साथीहरु मिलेर सामान्य बनाएका हौं । तर रुचाइदिनुभयो, एकदमै खुसी छु,’ भूपूले गीतको अन्तर्य खोले ।
करिब पाँच दर्जन गीतमा स्वर र अन्य थुप्रै गीतमा संगीत भरेका भूपू संगीतदेखि थोरै ‘फ्रस्टेड’ समेत सुनिए । साथै उनले देशमा बढिरहेको बेरोजगारी अन्त्यका लागि सरकारले ‘एक घर एक रोजगारी’को अवधारणा ल्याउनुपर्ने सुझाव समेत दिए ।भूपूसँग गफ स्टेसनमा उनको सांगीतिक संघर्ष, भारतमा बाल्यकालमै गएर गरेको परिश्रम, नेपाली संगीत, आगामी योजना लगायत विषयमा कुराकानी गरिएको छ ।