काठमाडौं । गायिका एलिना चौहान पुनः एकपटक विवादमा तानिएकी छन् । पर्वतमा आइतबार ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’अन्तर्गत स्टेज पफर्मेन्सका क्रममा प्राविधिकसँगको भनाभनका कारण उनी विवादमा परेकी हुन् ।एलिनाले टेक्निसियनलाई साउन्ड मिलाउन आग्रह गरेकी थिइन् । जवाफमा साउन्ड टेक्निसियनले ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ भनेपछि उनीहरूबीच थप भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।
‘पहिला तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु’भो ! आफ्नो गल्ती छ, यहाँ आएर एकचोटि उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन, बुझ्नु’भो नि ! नाच्न जान्दैन आँगन टेडो भनेको यही हो । मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई ?,’ एलिनाले भनेकी छन् ।जवाफमा टेक्निसियनले भनेका छन्, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौँ ।’एलिना र टेक्निसियनबीच भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेको सुनिन्छ ।
पानी परिरहेकाले मनिटरबिना गाउन कठिन हुँदा आफूले साउन्ड मिलाउन आग्रह गरेको एलिनाले बताएकी छन् । “पानी परिरहेको थियो । पानी परेकाले साउन्ड सानो आइरहेको थियो । मेरो स्वर यसै पनि क्र्याक छ, त्यसपछि छाती फुट्लाजस्तो भइरहेको थियो । त्यसैले स्वर साउन्ड मिलाउन भनेँ,” एलिना हामी सँग भन्छिन्, “मैले त्यसरी भन्नु हुने थिएन होला, तर मैले दर्शकलाई गाएर सुनाउनुपर्ने थियो । पानी परेकाले चिच्याएर गाउँदा घाँटी फुट्लाजस्तो भइसकेको थियो । त्यसैले मैले साउन्ड मिलाउन भनेको थिएँ ।”
पानी नपरेको भए यस्तो विवाद नहुने उनी बताउँछिन् । सुरुदेखि नै साउन्ड नमिलाएको उनको आरोप छ । “सुरुदेखि साउन्ड अप्स एन्ड डाउन भइरहेको थियो । तर, मैले दर्शकलाई म ठूलो स्वरमा भए पनि सुनिने गरी गाउँछु भनिरहेको थिएँ,” उनी अगाडि भन्छिन्, “तर, पानीको आवाज र दर्शकको क्राउडका कारण गाएकै सुनिन छोडेपछि मैले साउन्ड मिलाउन आग्रह गरेको थिएँ ।”
टेक्निसियनले आफ्नो साउन्ड अफ गरेको एलिनाको जिकिर छ । “साउन्ड टेक्निसियनले आफ्नो साउन्ड अफ गरेर मेरो मात्रै साउन्ड दिएर बोलेको भिडियोमा देख्नुभएकै छ,” उनले भनिन्, “विवाद भएपछि कार्यक्रम नै लथालिंग भयो । दर्शक साउन्ड टेक्निसियनमाथि आक्रमण गर्न जानुभयो । कार्यक्रम नै बिथोलियो ।”