पाल्पाको रिब्दिकोट गाउँपालिकाले २४ सै घण्टा मादक पदार्थ सेवन गरी हिँड्नेलाई सम्मान गरेको छ ।गाउँपालिकाले मादक पदार्थ सेवन गर्ने ६० जना व्यक्तिहरूलाई बिहीवार पालिकाको कार्यालय परिसरमा फूलमाला र पोशाकसहित सम्मान गरेको हो ।
मदिराको नशामा लागेका श्रमजीवी विपन्नहरूलाई सही मार्गमा लाग्न प्रेरणा दिन सम्मान अभियान शुरू गरेको गाउँपालिकाले जनाएको हो ।गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले मदिरा सेवन गरेर घर परिवारसँग झैँ–झगडा गर्न बानी छुटाउनका लागि सम्मान र पोशाक दिइएको लोकान्तरलाई बताए ।
मदिरा सेवन गर्ने, कमाएको रकम बचत नगर्ने र विपन्न वर्गका श्रमिकलाई मदिरा सेवनबाट हुने हानिनोक्सानीका साथै बचत गर्ने बानीको विकास गर्न सचेतना तथा सम्मान कार्यक्रम राखेको कार्कीको भनाइ छ ।
सो अवसरमा ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरव स्थानका ८, कुसुम खोलाका ३, ठिमुरेका ७ पालुङमैनादीका ४ र फेकका ४ जनालाई सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले गाउँ समाजमा रहेको विकृति विङ्गति हटाउँदै समाज सुधार गर्ने नैतिक जिम्मेवारी पालिकालाई भएको बताए ।
सम्मानित हुनेहरूले अबदेखि मदिरा सेवन नगर्ने प्रतिबद्धता समेत जनाएका थिए । पालिका उपाध्यक्ष कान्ता अधिकारीले गलत बाटो लागेका व्यक्तिहरूलाई सहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकोले यो अभियान सुरु गरेको बताइन् ।
कार्यक्रममा आएका अति विपन्न एवं आर्थिक अवस्था कमजोर भएका ३० घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलब भत्ताबाट निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिदिएका छन् ।