नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने उत्पादन हो – चिया । जहाँ बिहानै चिया पिउने अधिकांशको बानी समेत हो ।घरमा होस या अफिसमा दिनमा कयौँ पटक चिया बन्ने मात्र हैन कयौँ कप खाने आम नेपाली प्रचलन कै रूपमा रहेको छ ।
यसरी चिया पकाउँदा प्रत्येक पल्ट हालिने चियापत्ती भने हामीले एक चोटि प्रयोग गरेपछि फाल्ने गरेका हुन्छौँ ।तर तपाईँलाई यो कुरा रोचक लाग्न सक्छ यसरी फालिने चियापत्तीलाई पनि हामी विभिन्न काममा उपयोग गर्न सक्छौ । आउनुहोस् आज हामी यसैको प्रयोग बारे जानौँ ।
बिरुवाका लागि मल
प्रयोग भइसकेको चिया पत्ती बिरुवाको मलका रूपमा प्रयोग गर्न सकिन्छ । यसका लागि हरेक दिन प्रयोग भएको चिया पत्ती फोहोरमा नफाल्नुहोस् । बरु सङ्कलन गर्नुहोस् र धुनुहोस् । जसकाे प्रयोगले तपाईँले रोपेको बिरुवा हुर्किने छ ।
कपाल चम्काउन
यस्तो चिया पत्ती सफा पानीले धुनुहोस् र फेरि उमालेर छान्नुहोस । यो पानीलाई चिसो बनाएर कपाल धुनुहोस् । यसले तपाईँको कपाल मुलायम र चम्किलो बनाउने छ ।
घाउमा लगाउन
उमालेको चियापत्तीमा ‘एन्टी अक्सीडेण्ट’ पाइन्छ । यसको प्रयोग तपाई घाउ निको बनाउन गर्न सक्नुहुन्छ । त्यसका लागि प्रयोग भएको चिया पत्ती धोएर फेरि उमाल्नुहोस् । अब यसको लेप बनाएर घाउ भएको ठाउँमा लगाउनुहोस् । अनि अर्को कुरा जुन पानीमा चिया पत्ती उमाल्नुभयो त्यसलाई पनि नफाल्नुहोस् बरु घाउ सफा गर्न प्रयोग गर्नुहोस् ।
सिसा चम्काउन
घरमा प्रयोग भएका सिसा सफा गर्नु हाम्रा लागि तनावकै विषय हो । कपडाले सफा गर्दा त्यसमा रेसा बस्ने समस्या हुन्छ भने राम्रोसँग चम्किँदैन पनि । यस्तो अवस्थामा प्रयोग भएको चिया पत्ती फेरि उमालेर उक्त पानी ‘स्प्रे’ गर्नुहोस् अब कागजले सफा गर्नुहोस् । सिसा चम्किने छ ।