काठमाडाैं । विकिपिडियाको जानकारीलाई सही मान्ने हो भने महानायक राजेश हमाल करिब ५७ वर्ष भए । तर स्वस्थ र फिट अभिनेता हमाल सधैँ आफूलाई २५ वर्ष भन्न रुचाउँछन् । उनले एक अन्तर्वार्तामा यसको कारण पनि खोलेका छन् ।
महानायक हमाल भन्छन्, ‘मान्छे कोही पनि आफ्नो उमेरभन्दा कम देखिँदैन । प्राय धेरैजसो मानिसहरु आफ्नो उमेरभन्दा बढी चाहीँ देखिन्छन् । आफ्नो खानपिन, दिनचर्या, मनस्थितिका कारण आजका युगका मान्छेहरु उमेरभन्दा बढी देखिन्छन् । जुन उमेर म हो त्यो उमेर मैले बोकेकै छु । यदि कुनै वैज्ञानिकले मेरो दाँत, छाला लगेर जाँच्यो भने उसले मेरो उमेर बताइदिन्छ ।’
उनी थप्छन्, ‘उमेर लुकाएर लुक्दैन । तर म आफूलाई २५ वर्ष नै भन्न चाहन्छु । किनकी आफ्नो मनोविज्ञानलाई त चुस्त राख्नुपर्यो नि । तपाईँले आफ्नो दिमागलाई जे भन्नुहुन्छ, त्यहीबाट तपाईँ सञ्चालित हुनुहुन्छ । तपाईँ आफू कमजोर छु भन्नुहुन्छ भने दिमागले त्यही अनुसार क्रियाकलाप सुरु गर्छ, म जवान छु, स्वस्थ छु भन्नुहुन्छ भने दिमागले त्यही अनुसार काम गर्छ । किनकी शब्द भनेको धेरै ओजनशील चिज हो ।’
यस्तै उनले अहिलेको पुस्ताले खानपानमा ध्यान नदिएको पनि बताए । ‘तपाईँले खानपिनमा ध्यान दिनुभयो, शारीरिक व्यायाममा ध्यान दिनुभयो भने स्वस्थ र कम उमेरकाे देखिन सक्नुहुन्छ । किनकी हाम्रो शरीरले त अलिकति शारीरिक क्रियाकलाप खोज्छ । तर आजको युगमा विशेषगरी मानिसहरु शारीरिक क्रियाकलाप गर्दैनन् । शारीरिक क्रियाकलाप नगरिकनै दिनचर्या बित्ने अवस्था छ । मानिसहरुको दिनचर्या कुर्सीमा बसेर चल्छ । अनि अर्को कुरा हामी कम्पनीबाट उत्पादित प्याकिङका रेडिमेट खानाहरु खाइरहेका छौँ । त्यसको त हामीलाई स्रोत नै थाहा छैन । त्यसमा के के मिसाइएको पनि हामी ध्यान दिँदैनौँ’, उनले भने ।
महानायक हमालका अनुसार उनी करिब ८ घण्टा नियमित सुत्छन् । आफ्नो जीवनशैलीबारे उनले यसरी सुनाए :
पहिला पहिला मैले सोच्थेँ कि जति बजे सुत्न गए पनि बिहान ५–६ बजेभित्र उठ्नुपर्छ । तर अचेल मलाई के लाग्छ भने सुत्नु एकदमै जरुरी रहेछ । ८ घण्टा सुत्ने वा कम्तिमा ६, साढे ६ घण्टा सुत्ने भनेको चाहीँ हाम्रो मोबाइल चार्ज गरेजस्तै हो । तपाईँ मोबाइल ५० प्रतिशत मात्रै चार्जमा राखेर हिँड्ने कि, २० प्रतिशत मात्रै चार्जमा राखेर हिँड्ने कि अथवा सय प्रतिशत चार्जमा राखेर हिँड्ने त ?
हाम्रो सुताइ पनि त्यही नै हो । चार घण्टा सुतेपछि तपाईँको थकाइ त मेटिन्छ तर त्यो फुल चार्ज भइरहेको हुँदैन । तपाईँ ८ घण्टा राम्रोसँग सुत्न सक्नुभयो भने तपाईँको पुरै सिस्टम फुल चार्ज हुँदो रहेछ र तपाईँ एकदमै फ्रेस महसुस गर्नुहुन्छ । त्यसैले म ८ घण्टा सुत्ने प्रयास गर्छु ।
खानपिनको कुरा गर्ने हो भने म के खाने भन्दा पनि के चाहीँ नखाने भन्ने कुरामा ध्यान दिनुस् भन्न चाहन्छु । पछिल्लो तीन–चार वर्षयता पछिल्लो भोजनबाट भोलिपल्टको पहिलो भोजनमा कम्तिमा म१६ घण्टा ग्याप राख्छु । मैले अघिल्लो रात ८ बजे खाना खाएँ भने भोलिपल्ट बिहान म १२ बजे भन्दा अघि केही खान्नँ ।
म सादा खाना खान्छु । आफूलाई स्रोत थाहा भएको सादा खानपिन नै रुचाउँछु, यसले नै स्वास्थ्यलाई राम्रो गर्छ । दाल, भात, सागसब्जी, माछा मासु यस्तै खाना खान्छु । धेरै चिल्लो खान्नँ । धेरै नुन पनि खाँदिन । मैले चिनी नखाएको २५, ३० वर्ष भइसक्यो । प्याकेटको चाउचाउ नखाएको पनि त्यति नै वर्ष भइसक्यो ।