काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आज मध्यरातिदेखि उपत्यकामा १० भदौसम्म निषेधाज्ञा लागू हुने भएको हो ।
संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम आज राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुने गरी उपत्यकामा निषेधाज्ञाको निर्णय गरिएको हो ।
मंगलबार उपत्यकाका ३ जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकको निर्णयअनुसार औषधि खाद्यवस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन ।
यसैगरी, अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासाय सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारीसाधनबाहेक उपत्यकाभित्र अरू सवारीसाधन प्रवेश निषेध गरिएको छ ।