नायक अनमोल केसी पक्राउ प्रकरण आइतबारबाट केही मत्थर भएको छ । अब, प्रहरीले बोलाएको समयमा अनमोल प्रहरीसमक्ष हाजिर हुनुपर्ने छ ।
अनमोल केसी पक्राउ परेपछि नेपाली फिल्म क्षेत्रका केही व्यक्तिहरूले उनलाई निकै साथ दिए । निर्माता सुनिल कुमार थापा, रोहित अधिकारी, सरोज न्यौपाने, वितरक गोविन्द शाही, चलचित्र प्राविधिक संघका पूर्वअध्यक्ष मनोज केसीले अनमोल केसीलाई यो मुद्दामा निकै ठुलो साथ दिएका छन् । यस्तै, अनमोलको परिवारले पनि यो मुद्दामा उनलाई हरेक समय साथ दियो ।
तर, यो मुद्दा चलिरहँदा अनमोलका पिता भुवन भने युरोपमा थिए । उनलाई, आफन्तदेखि फिल्मकर्मीले बारम्बार फोन गरेर नेपाल फर्किन आग्रह गरे । तर, भुवनले आफ्नो अक्टोबर ४ तारिखमा माल्टामा कार्यक्रम रहेकाले फर्किन नमिल्ने जानकारी दिए ।
आफ्ना छोरा यती ठुलो समस्यामा पर्दा पनि भुवन केसीले माल्टामा आयोजना हुन लागेको कार्यक्रमलाई नै महत्त्व दिएपछि यति बेला सिंगो फिल्म क्षेत्र र उनका आफन्तहरू अचम्मित बनेका छन् ।
एक जना पत्रकारले त सामाजिक सञ्जालमा भुवन केसीलाई पैसा भन्दा प्यारो अरू केही पनि नहुने भन्दै स्टाटस नै लेखेका छन् ।
भुवन केसी छोराको यो मुद्दामा जस्तो सुकै कार्यक्रम भए पनि छाडेर वा स्थगित गरेर फर्किनुपर्थ्यो भन्ने अधिकांश फिल्मकर्मीको भनाई छ । तर, यस पटक भुवन केसी छोराको यो अप्ठ्यारो परिस्थितिमा अभिभावकिय दायित्वबाट पूर्ण रूपमा पन्छिएका छन् ।