काठमाडौं । पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै पशुपति मन्दिर क्षेत्र वरिपरि मासु र मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।
मन्दिर क्षेत्रभित्र पवित्रता कायम गर्नका लागि असोज १ गतेदेखि मन्दिर वरिपरि मासु र मदिरा बिक्रीमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
प्रशासन कार्यालयका अनुसार पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेर मासु र मदिरा बिक्रीमा रोक लगाइएको हो ।
प्रशासनले तोकेको क्षेत्रभित्र असोज १ गतेदेखि मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री वितरण तथा ओसारपसार र भण्डारण गर्न पाइनेछैन । यसरी नियमविपरीत कसैले मासु र मदिराजन्य वस्तुको उत्पादन र कारोबार गरेको पाइएका कारवाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।