काठमाडौं- संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ’, ट्विटरमा भनिएको छ।
राष्ट्रपति पौडैलले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेको बताइएको छ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।
निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।