क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ । पेसी स्थगित नभए लामिछानेविरुद्धको मुद्दाको आजै किनारा लाग्ने छ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा किशोरीको हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता भएको थियो भने लामिछानेका तर्फबाट वकालत गर्ने कानुनव्यवसायीले पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ । सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो ।
सर्वोच्च अदालतले सन्दीपलाई थुनामा राखिरहनु नपर्ने भन्ने आदेशमा पनि मुख्यतः उमेर विवादलाई नै आधार लिएको थियो । सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको हो ।उक्त सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाएमा एसिया कप खेल्न जानेछन् भने दोषी ठहर भएमा जेल जानुपर्नेछ ।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला–२६ अस्पताल भर्ना भएकी छिन् । प्रहरीका अनुसार औषधिको ओभरडोज लिएपछि उनी अस्पताल भर्ना भएकी हुन्। उनलाई नर्भिक अस्पतालमा राखिएको छ । ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन् ।
सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी आज(आइतबार) तोकिएको छ। पेशीको अघिल्लो दिन पीडित गौशाला–२६ ले औषधिको ओभरडोज लिएपछि अस्पताल भर्ना भएकी हुन् ।उनले चिकित्सकको परामर्शमा मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधि सेवन गरिरहेकी छिन् ।
गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई थुनामुक्त गरेको थियो।