विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।
यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएका आरोपीहरुलाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, विराटनगर–२ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा तपेश्वरलाल कर्ण, विराटनगर–९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजबंशी, कटहरी गाउँपालिका–२ निवासी ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सूर्यनारायण राजबंशी, सिराहा कल्याणपुर नगरपालिका-१२ का ३८ निर्मला यादव छन्।
डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बेचेको आरोप
कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले पाँच लाँखमा बच्चा बेचेको खुलेको छ ।अविवाहित जोडीबाट विराटनगरको ग्रिनक्रस हस्पिटलमा जन्म भएकी नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
कोसी अस्पतालका पूर्वमेसुसमेत रहेका ६८ वर्षीय डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बिक्री गरेको आरोप लागेको छ। अविवाहित युवती तथा अवैध गर्भबाट जन्मिएको बच्चा मोटो रकम लिएर सन्तानविहीन दम्पतीलाई बिक्री गर्ने गरेको आरोप उनीमाथि लागेको हो।
प्रहरीले पृष्ठभूमिसमेतलाई आधार बनाएर उनीमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार उनी लामो समयदेखि यो धन्दामा संलग्न रहेको पाइएको छ। ‘अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने गरेको पाइयो। शिशुलाई मोटो रकम लिएर सन्तान नभएकालाई बिक्री गर्ने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘शिशु बिक्री गर्दा १ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको कुरा आएको छ। थप अनुसन्धानपछि यस विषयमा प्रष्ट हुन्छ।’ स्रोतका अनुसार अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेटाउने गिरोह सक्रिय छ।
त्यो गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। नर्स र अस्पतालका कर्मचारीदेखि उनको क्लिनिकमा बिचौलियाको काम गर्नेसम्मले अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेट गर्ने वातावरण मिलाउने गरेको पाइएको छ। अवैध गर्भलाई पतन गर्ने र गर्भपतन गर्न नमिल्ने शिशुलाई रकम लिएर बिक्री गर्ने गरेको प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन्।
उनका अनुसार शिशु व्यवस्थापन गरिदिएवापत अभिभावकसँग पनि अलग्गै रकम लिने गरेका रहेछन्। प्रसूति तथा स्त्री रोग विशेष डा. तपेश्वरले कोसी अस्पतालमा अढाइ दशक काम गरेका थिए। त्यस क्रममा उनले अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर बिक्री गरेको आरोप छ।हालसम्म कति शिशु बिक्री गरे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेसु थिए।