रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन्।रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।
‘स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो,’ डिएसपी केसीले भने।शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।
प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए।
बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ ।मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो ।तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।