काभ्रेपलान्चोक । भारतीय प्रहरीले एक सनसनीपूर्ण चोरी घटनाका आरोपितलाई पक्राउ गरेको छ ।
आरोपित चोरको सम्बन्ध नेपाल र भारतमा देखिएको छ । उसले चोरीबाटै विशाल सम्पत्ति जोडेको समेत खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मनोज चौबे नामको त्यो व्यक्तिले भारतको राजधानी दिल्लीमा चोरी गर्ने र चोरेको सो सम्पत्तिले भारतकै लखनउमा घर बनाएको तथा नेपालको तौलिहवामा होटल चलाएको भेटिएको छ ।
सन् २००१ देखि २०२३ सम्म चौबेका नाममा १५ वटा आपराधिक घटनासमेत प्रहरीमा दर्ता भएका छन् । तर, चौबेले आफ्नो नाम र ठेगाना ढाँट्ने गरेका कारण उसको वास्तविकता खुलेको थिएन । दिल्ली प्रहरीले उसलाई पछिल्लोपटक मनोज चौबेको नाममा पहिचान गरेको छ ।
चौबेले चोरीबाटै करोडौँको सम्पत्ति जोडेका छन् । उनले भारतको सिद्धार्थनगरमा श्रीमतीको नाममा प्रोपर्टी खरिद गरी अस्पताललाई भाडामा दिएको समेत खुलेको छ । उनले अस्पतालबाट महिनाको दुई लाख रुपैयाँ भाडासमेत बुझ्ने गरेका थिए । त्यति मात्र होइन, उनले नेपालको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा होटलसमेत चलाएका छन् । लखनउमा घर किनेका छन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार चौबेले भारतको दिल्लीलाई चोरीको केन्द्र बनाएका थिए । उनले दिल्लीका विभिन्न स्थानमा २ सयपटक चोरी गरेको खुलेको छ । त्यति मात्र होइन, उनले आफ्नो घरमा वास्तविकता नखुलाएर दोहोरा जीवन बाँचेको समेत भेटिएको छ । उनले दुई बिहे गरेको पनि बताइएको छ । एउटा बिहे भारतीय युवती र अर्को बिहे भारतको दिल्लीमा बस्ने नेपाली युवतीसँग गरेको खुलेको छ । उनले भारतीय युवतीसँग बिहे गर्दा दिल्लीमा पार्किङको ठेक्का लिने गरेको र कहिलेकाहीँ ६ महिनासम्म घर आउन नसक्ने बताएका थिए ।
तर, पछिल्लोपटक उनी पक्राउ पर्दा उनले नेपाली युवतीसँग पनि बिहे गरेको खुलेको हो । नेपाली युवतीका भाइ विनोद थापाको स्कुटर लिएर चोरी गरेको प्रहरीले पुष्टि गरेको छ । चौबेले पछिल्लोपटक चोरी गर्दा उनको अनुहार र स्कुटरको नम्बर सीसीटीभी फुटेजमा कैद भएको थियो । प्रहरीले अनुसन्धान गर्दा सो स्कुटर चौबेका साला विनोदको भएको खुलेको थियो । र, विनोदले आफ्नो स्कु्टर भिनाजु चौबेले चलाउने गरेको प्रहरीलाई बयान दिएका थिए । त्यसपछि चौबे पक्राउ परेका हुन् ।