काठमाडौं । हिमालय रोडिज सिजन-५ को प्रसारण सुरु भएको छ । सोमबार बेलुका प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसनलाई प्रस्तुत गरियो । जुन हेर्दा लाग्थ्यो– हामी कुनै टिभी शोभन्दा ब्लकबस्टर फिल्म हेरिरहेका छौं । जहाँ एउटा फिल्ममा हुनुपर्ने सबथोक थियो ड्रामा, थ्रिलर, इमोसन, एक्सन सबथोक ।
एक्सन फिल्म निर्देशकको रुपमा चर्चित सिमोस सुनुवारले आफ्नो स्टाइलमा रोडिजलाई पस्किएका थिए । सिजन ५ को पहिलो भागमा आममान्छेको संघर्ष कथा, टास्क, हाँसो, नृत्यदेखि घेचपेच सबै समेटिएको थियो । छायांकन र पार्श्व ध्वनिले यो एपिसोडलाई दर्शनीय बनाएको थियो ।
यीभन्दा पनि महत्वपूर्ण कुरा अडिसन दिन आएका व्यक्तिको कथा र संघर्ष निकै मर्मस्पर्शी लाग्थ्यो । जो अडिसन दिन आएका थिए, उनीहरुको जीवनको कथा भिन्न थियो । कोही ब्रिटिश लाहुरे बन्ने सपना बीचमै त्यागेका, कोही बाल्यकालमा अभावमा हुर्किएका, कोही शारीरिक र मानसिक रुपमा बलियो भन्ने आशा राखेका, कोही पहिचानको खोजीमा निस्किएकादेखि समाजमा सन्देश दिने उद्देश्यले आउने थिए ।
अघिल्ला सिजनभन्दा विविधता पस्किएको पाँचौं सिजनको पहिलो एपिसोडमा ग्याङ लिडरको रुपमा आशिष राना लाउरे, प्रियंका कार्की, दीया मास्के र अनुपविक्रम शाही छन् । होस्टको रुपमा सुरज सिंह ठकुरीको आभा र उपस्थितिले नै रोडिजलाई अझै उचाइमा लगेको अनुभूति गर्न सकिन्छ । सुशान्त खत्री डान्स जज गर्ने गेस्टको रुपमा उपस्थित थिए ।
पल शाहको छायामा पहिचान खोजिरहेकी रोशनी
सिजन ५ को पहिलो एपिसोडमा अभिनेता पल शाहकी बहिनी तथा डान्सरसमेत रहेकी रोशनी राज्यलक्ष्मी शाहको उपस्थितिले सबैको ध्यान खिच्यो । आफ्नो जीवनमा ‘आइडेन्डिटी क्राइसिस’ रहेको खुलासा गर्दै उनले आफ्नो पहिचानका लागि आफू रोडिजमा सहभागी भएको बताइन् । उनले यस क्रममा बाबु, आमा र दाइको नाम लिइन् ।
रोशनीले भनिन्, ‘म यसलाई अर्को जुनी सम्झन्छु । ५-६ वर्षसम्म म हिपले घिस्रेर हिंडे । जन्मिने बेलामा बल्ल पोलियो आएको थियो रे । त्यतिबेला मैले मौका पाइनँ । म त्यो टाइममा डिसबेल थिएँ । समाजले परिवारलाई कति कुरा सुनायो होला । तर मेरो परिवारले मलाई राम्रोसँग ट्रिट गर्यो । ६ वर्षको उमेरमा मात्र हिंड्न सकें ।’ यसो भनिरहँदा रोशनीका आँखा रसाइरहेका थिए ।
उनले अगाडि भनिन्, ‘मेरो दाइ जुन संघर्ष गरेर यहाँ पुग्नुभएको छ । मैले पनि मेरो नाम राख्न म आफैं हिंड्नुपर्छ । त्यही भएर यहाँ आएको हुँ । यो फर्ममा कहीं पनि दाइ पल शाहको नाम छैन ।’ जवाफमा सुरजले जवाफ दिए, ‘म पनि पल शाहको दाइ वा भाइ भएको भए कहीं न कहीं उसको नाम राखेर इन्फ्लुएन्स गरौं भन्ने सोच्थें होला ।’
रोशनीको हार नमान्ने स्वभाव र बाल्यकालीन संघर्षबाट प्रभावित भएर आफूले उसलाई रोडिजका लागि छनोट गरेको प्रियंकाले बताइन् । होस्ट समेत रहेका सुरजले डिसेबल भन्ने शब्द डिस्नेरीबाट हटिसकेको बताउँदै रोशनीलाई हार नमान्न सुझाव दिए । रोशनीले ग्याङ लिडरको रुपमा दीया मास्केलाई रोजिन् ।डान्सर हुनुको शारीरिक क्षमताले रोशनीलाई रोडिजमा फिजिकल एक्सरसाइज गर्न सजिलो भयो । झुण्डिएको बाँसमा हिंड्नेदेखि लिफ्टअप गर्ने र काठमा चढ्ने टास्क उनले सजिलै पूरा गरिन् ।
रुकुमे ठिटो जो दुई वर्ष अमेरिकी जेलमा बसे
रुकुमबाट सहभागी भएका नरेशले रोडिजको अडिसनमा कथा सुनाउँदा सबै जना स्तब्ध भए । नेपाल, अफ्रिका र दक्षिण अमेरिका हुँदै अमेरिका पुग्ने उनको त्रासदी यात्राको कथा सुन्दा हामीलाई कुनै फिक्सन सुनेजस्तो अनुभूति हुन्छ । आङ सिरिंग पार्ने उनको यो कथामा ग्याङ लिडर पनि भावुक भए ।नरेशको कथा अन्य ८० हजार नेपालीलाई सुनाउन जरुरी छ भन्दै होस्ट सुरज सिंह ठकुरीले विशेषाधिकार प्रयोग गर्दै नरेशलाई छनोट गरे । नरेशले पनि लाउरेको टिम रोजे ।
नरेशले भने, ‘रुकुमबाट काठमाडौंमा आएर सात दिन बसें । त्यसपछि सिधै अफ्रिकाको इथियोपिया गएँ । त्यहाँ एक महिना बसेपछि चिली पुगें । त्यसपछि पेरुको मरुभूमिमा गएँ । त्यसपछि इक्वेडर । त्यसपछि कोलम्बिया लाग्यौं । मेक्सिको पुग्दा नेपाली पासपोर्ट च्यात्नुपर्यो । मेक्सिकोको जंगल, पहाड र नदी पार गरेर अमेरिकाको सनफ्रान्सिस्को पुग्नुपर्यो । त्यसपछि शरणार्थीको रुपमा दुई वर्ष जेलमा बस्नुपर्यो ।’
नरेशलाई छनोट गरेको घोषणा गर्दै सुरजले भने, ‘ती रोडिजको आगामी एपिसोडमा पनि पर्दामा हुनुपर्छ । तिमीलाई पुसअप र फिजिकल अभ्यासबिनै अर्को चरणमा छनोट गर्छु । ८० हजार नेपाली यो प्रोसेसबाट नजाओस् भन्नका लागि तिमी स्क्रिनमा हुनैपर्छ ।’
हिमालय रोडिज प्रत्येक सोमबार बेलुका ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुने गर्छ ।