सामाजिक सञ्जालमा छुद्र बोलेर चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय निकै आलोचित छन ।
मन्दिर अगाडि चर्च बनाएको विवाद नसेलाउँदै निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएको भन्दै उनी थप विवादमा परेका हुन ।
स्थानीय रोशन अधिकारीले भोगचलन गर्दै आएको धरान– ४ छोटी मोरङको जग्गामा मेयर साम्पाङले जबरजस्ती वृक्षारोपण गराएका हुन् । उक्त जग्गा धरान नगरपालिकाका पूर्व वडाअध्यक्ष समेत रहेका रोशनकी श्रीमती रोजिना अधिकारीको नाममा छ । अधिकारीले उक्त जग्गामा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका थिए ।
अधिकारीले वर्षौदेखि भोगचलन गर्दै आएको सो जग्गालाई सर्दु जलाधार क्षेत्रको भन्दै साम्पाङले जबरजस्ती वृक्षारोपण गराएपछि उनी आलोचित छन् । उनले जग्गाधनीलाई नगर प्रहरी लगाएर लछारपछार पार्दै वृक्षारोपण गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
नगर प्रहरी लगाएर निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएका साम्पाङले विरुवा उखेले जग्गामा डोजर चल्ने चेतनावनी समेत दिएका हुन् । उनले भनेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्ने छ । अनेक पारीको मुद्दा लाग्नेछ र पुरै पब्लिक उठाएर माफिया विरुद्ध जाइलाग्ने छौ । चुप लागेर बस है !’
यसलगत्तै साम्पाङले चेतावनी दिँदै अर्को स्टाटस पनि लेखेका छन्, ‘चुपो लागेर बस अन्यथा अझ निर्मम कदम चाल्नेछु । देश र जनता ! सत्य, न्याय र समानता भन्दा अरू मैले केही सोचेको छैन ! जय देश ।’
त्यसपछि उनी लगातार फेसबुकमा अधिकारी विरुद्ध कुर्लिरहेका छन् ।
,