काठमाडौं । यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोषले तीजको समयमा दर्शनार्थीहरूको सुविधाका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
कोषका सदस्यसचिव मिलनकुमार थापाका अनुसार भक्तजनको लागि चार वटा प्रवेश लाइन तोकिएको छ । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरिनेछ ।
तेस्रो लाम पिङ्गलास्थान–वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने र चौथो लाम बत्तीसपुतली–गौशाला–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरिने व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई सजिलै र छिटो दर्शन गर्न दिनका लागि बिहान ३ बजेदेखि नै मन्दिरका सबै ढोकाहरू खोलिने बताइएको छ । मेलामा चोरी, लुटपाट जस्ता घटना हुन नदिन कोषले महिला भक्तजनलाई बहुमूल्य गरगहना नलगाई आउन र ससाना बालबालिका साथमा नल्याउन आग्रह गरेको छ ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ, जसका लागि नेपाल प्रहरीसँगको समन्वयमा विशेष सुरक्षा योजना लागू गरिएको छ । भक्तजनको सवारी पार्किङको लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा, कोषको कार्यालय परिसर, र गौशालामा पार्किङ स्थलहरू छुट्याइएका छन् ।
सरकारी सवारीका लागि कोष कार्यालय र सुरक्षा निकायका लागि प्रहरी प्रभागमा पार्किङको व्यवस्था गरिएको छ । जुत्ता–चप्पल राख्ने ठाउँ वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी र राममन्दिर मुनि तोकिएको छ । नाचगान र भक्ति सङ्गीतका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी र मित्रपार्क स्थान छुट्याइएको छ ।