काठमाडौं । हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ।
दशैं तिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैंकले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो ।
राष्ट्र बैंकले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताएको हो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ ।