काठमाडौं/जिल्लामा थप एकजनाको डेँगु संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १८ चनौलीका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए। उनका अनुसार बिरामीमा कडा खालको डेँगु देखिएको थियो।
शरीरका विभिन्न भागबाट रक्तस्राव भई अंगहरूले काम गर्न छाडेर (मल्टी अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर– २ का ६३ वर्षीय वृद्धको डेँगु संक्रमणका कारण मृत्यु भएको थियो।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७८८ जनामा डेँगुको संक्रमण देखिएको छ। तीन हजार ३३१ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण देखिएको हो। संक्रमितमध्ये ५८० जना चितवनका र अन्य जिल्लाबाहिरका रहेका छन्।