काठमाडौं । हवाई यात्रा गर्दा खाने–पिउने सामानसँग सम्बन्धित नियमहरू धेरैलाई थाहा हुँदैन । यसले गर्दा विभिन्न समस्यामा पर्न सकिन्छ । धेरै यस्ता सामानहरू छन्, जसलाई फ्लाइटमा लैजान अनुमति दिइएको हुँदैन । नरिवल पनि तीमध्ये एक हो, जसलाई साथमा लिएर हवाई यात्रा गर्न सकिँदैन ।
यदि तपाईंले नरिवल साथमा लैजानुहुन्छ भने यसलाई तपाईंले एयरपोर्टमै फाल्नुपर्ने वा ठुलो जरिवाना भोग्नुपर्ने हुनसक्छ । वास्तवमा दुबई लगायत धेरै एयरलाइन्सले नरिवलमा प्रतिबन्ध लगाएका छन् । यसका पछाडि सुरक्षा कारणहरू छन् । तपाईं सोच्दै हुनुहुन्छ होला कि नरिवललाई हवाई यात्रा गर्दा किन लैजान प्रतिबन्ध छ ?
यस प्रतिबन्धको कारण यसको ज्वलनशील गुण हो, जसले गर्दा नरिवलमा कुनै बेला पनि आगो लाग्न सक्छ । यसमा ठुलो मात्रामा तेल पाइन्छ, जसका कारण यसलाई सुरक्षा कारणले ज्वलनशील पदार्थको श्रेणीमा राखिएको छ र हवाई यात्रा गर्दा लैजान प्रतिबन्ध लगाइएको छ ।
नरिवलको साथै तपाईं फ्लाइटमा गन, फायर आर्म्स, विस्फोटक पदार्थ, ज्वलनशील पदार्थ, तेज धार भएका सामानहरू जस्तै- चक्कु, सेल्फ डिफेन्ससँग सम्बन्धित उपकरणहरू, स्याटलाइट फोनहरू, सुर्ती, गाँजा, हिरोइन र रक्सी लगायत धेरै सामानहरू लैजान अनुमति दिइएको छैन ।बिना फ्यूलको लाइटर र ई–सिगरेटलाई भने केही नियमहरूको अधीनमा लैजान सकिन्छ ।