काठमाडौँ – हेर्ने कथामा हालै सार्वजनिक भएको हराएका वर्षहरूमा रहेको भिडियो हेरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य पात्र प्रकाश तामाङप्रति सहानुभूति प्रकट गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका हुन् । उनले लेखेका छन्, ‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड हराएका वर्षहरू हेरेँ । प्रकाश तामाङ काले मोक्तानको परिवारसँग मिलनको दृश्यले आँसु आयो।’
उनी अगाडि लेख्छन्, ‘यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान् । एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या चापागाईं प्रभावशाली स्टोरी टेलर हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरू कयौँ कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु । यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद ।