काठमाडौं । तीज नजिकिएसँगै सामाजिक सञ्जालमा एउटा भनाइ चर्चामा हुन्छ– ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’
त्यो क्रेज अझैसम्म रहेको देखिन्छ । जब शनिबार युट्युबमार्फत रिलिज उनले गीत रिलिज गरिन् । गीत एक दिनमै झन्डै ३१ लाखभन्दा बढीले हेरिसकेका छन् । उनै चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तीज गीत ‘आइन आमा यो तीजमा’ले एक दिनमै रेकर्ड बनाएको हो ।
आइतवार अपराह्नसम्म माझीको गीत झन्डै १९ लाख बढीले हेरेका छन् । ‘पुतलीको भट्टी’ श्रृङ्खलाको २० औँ भागको रूपमा आएको गीतमा एक दिनमै झन्डै १६ हजारले कमेन्ट गरेका छन् ।
लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरै जना माझ चर्चित पनि छन् ।
यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी हुन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युबमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।
माझीकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा सङ्गीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पार्श्वगायन मात्र छ ।
यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् ।
नेपाली संगीतको कुनै गीत छोटो समयमै यति धेरैले हेरेको पहिलो भएको कलाकारहरू बताउँछन् ।सार्वजनिक जीवनमा नदेखिएकी माझीले विगतमा गाएका गीतले पनि रेकर्ड बनाएका थिए । २०७८ सालमा आएको ‘चरी जेलै’मा भन्ने गीत ‘५३ मिलियन’ अर्थात् ५ करोड ३० लाख पटक हेरिएको छ ।