काठमाडौं । भारतको बिहार राज्यमा नेपाली तीर्थयात्रीहरू सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बिहारको समस्तीपुर जिल्लामा शनिबार राति भएको दुर्घटनामा ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बसलाई पछाडिबाट आएको एक ट्रकले ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र अन्य निजी क्लिनिकहरूमा भइरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा बारा मुक्तिपुरियाका गीता देवी, सीमा कुमारी, विश्वनाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्र कुमार, रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी, किशोरी साह, उषा देवी लगायतको उपचार भइरहेको छ ।
बसलाई क्रेनको सहायताले उठाइएको छ र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटना बारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । घाइते तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । तीर्थयात्रीहरू बाराको बारागढी गाउँपालिका ३ मूर्ति टोलबाट झारखण्डको देवघरमा जल चढाउन जाँदै थिए ।