तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा शुक्रवार बिहान २७ जनाको मृत्यु भएको बस दुर्घटनामा भारतको महाराष्ट्रका एकै परिवारका छ जना परेका छन् । जसमध्ये तीन जनाको मृत्यु भएको बताईएको छ ।
दुर्घटनामा महाराष्ट्रको भुजावलको नागपुरका सरोडे परिवारका छ जना परेको सरोडे परिवारका आफन्तले बताए । सरोडे परिवारका आफन्तले अहमदावादबाट दिएको जानकारी अनुसार बसमा सवार हेमराज सन्तराम सरोडे, रुपाली हेमराज सरोडे र अनुप हेमराज सरोडेको मृत्यु भएको बताईएको छ ।
दुर्घटनामा परेका सन्दीप सन्तराम सरोडे, पल्लवी सन्दीप सरोडे, गोकर्णी सन्दीप सरोडेको भने शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।
पोखरा र काठमाण्डौं भ्रमणका लागि भारतको महाराष्ट्रबाट आएका उनीहरु दुई दिनअघि भदौ ५ गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका थिए । पोखराबाट काठमाडौंका लागि हिडेका उनीहरु सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो । बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
हेलिकप्टरमार्फत काठमाडौं ल्याईएका घाईतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पर्ने अधिकांश व्यक्तिहरु भारतको महाराष्ट्रका बासिन्दा हुन् ।