काठमाण्डौ / तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।
उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर-२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उहाँका अनुसार अप्ठेरो ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारको काम भइरहेको छ । घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचर रहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।
घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।