काठमाडौँ – छालामा अचानक सेतो दाग आउँछ भने त्यसलाई सेतो दुबी भनिन्छ। यो वंशाणुगत हुनसक्ने रोग हो। यो छालामा रङ उत्पन्न गर्ने तत्त्वको कमीले गर्दा पनि हुन्छ।
विश्वको करिब एक प्रतिशत जनसंख्यालाई भएको यो रोगमा छालालाई कालो वा खैरो रङ्ग प्रधान गर्ने मेलनओसाईट नामक कोशिकामा वंशाणुगत र वातावरणका कारणले असर गर्ने गरेको पाइएको छ ।
यही कोशिकाहरू बिस्तारै बिग्रिँदै र कम हुँदै जाँदा यसले छालालाई दूध सेतो रङ्ग प्रधान गर्दछ । त्यही नै सेतो दुबी हो । जुन रोग धेरैजस्तो २० देखि ३० वर्ष उमेरका महिलाहरूमा बढी देखिन्छ ।
यो रोग छालाको समस्या मात्रै नभएर अन्य भित्री रोगका कारणले पनि हुन सक्छ। जस्तै मधुमेह, थाइराइड, बाथ, दम त्यस्तै शरीरमा रगतको मात्रा घटाउने खालका रोगहरू पनि यससंगै जोडिएका हुन्छन्।
शरीरमा सेतो दाग आउने संगसंगै चिलाउने समस्या देखियो भने यी रोगहरुको पनि जाँच आवश्यक छ। कहिलेकाहीँ मधुमेह, थाइराइड पहिलेदेखि नै भएको र हामीले थाहा नपाएको अवस्थामा सेतो दुबी धेरै फैलिने सम्भावना हुन्छ।
उपचार हुन्छ त?
उपचारका लागि आउने बिरामीहरू दुबी धेरै फैलिएपछि मात्रै चिकित्सक भएको ठाउँमा जाने गरेका छन् । जसका कारण उपचार त्यति प्रभावकारी हुँदैन। यदि सुरुवाती अवस्थामै बिरामी उपचारका लागि आउने हो भने विभिन्न पद्धतिहरू छन्।
जस्तै मल्हमहरुको प्रयोग घामले सेक्ने गरिन्छ। त्यस्तै रौँ आउने भागहरूमा छालाको रङ दिने कोशिकाहरूको गुण हुन्छ। त्यस्तो भागलाई उपचार गरेर पहिलेकै अवस्थामा फर्काउन सकिन्छ।
तर रौँ नआउने भागहरू जस्तै ओठ, औँलाको चेप त्यस्तो भागहरूमा उपचार पछि रौँ आउने सम्भावना न्यून हुन्छ।