मासु स्वास्थ्यका लागि हानिकारक मानिदैन । र, रातो मासु खानै नहुने भन्ने पनि होइन । तर, त्यसलाई खाने तरिका नमिलेको अवस्थामा भने स्वास्थ्यमा समस्या निम्तिन सक्छ । मासु खाँदा चिल्लो र बोसोरहित मासु खानुपर्छ । यस्तो मासुले हानि पुर्याउँदैन ।
बोसो, छाला भएको मासुको सेवन अन्य समस्या भने उत्पन्न हुन सक्ने सम्भावना बढी हुन्छ । ‘लिन मिट’ जसमा धेरै बोसो हुँदैन । छाला हुँदैन, त्यस्तो मासुमा प्रोटिन, आइरन, भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ । र, यो शरीरका लागि राम्रो मानिन्छ ।
तर, मासु धेरै मात्रामा खाएको अवस्थामा युरिक एसिड, कोलेस्टेरोललगायतका समस्याहरू निम्तिन सक्छन् ।
त्यस्तै, कब्जियतको समस्या पनि देखिन सक्छ । मासुको धेरै प्रयोगले पाचन क्रियामा समेत समस्या आउन सक्छ । सामान्यतया मासु पकाउँदा तेलको प्रयोग बढी गर्ने चलन छ । धेरै चिल्लो पदार्थ प्रयोग गरेर पकाएको मासु खानाले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन मद्दत पुर्याउँछ ।
चिल्लोको साटो मासुलाई केही बेर उसिनेर त्यसलाई थोरै तेल र मसला प्रयोग गरी पकाएर खान सकिन्छ ।
बालबालिका तथा वृद्धवृद्धाले कसरी खाने ?
स–साना बालबालिकाले धेरै मासु खाँदैनन् । तर, वृद्धवृद्धाको हकमा भने मासुको मात्रा उनीहरूको उमेर, तौल, शारीरिक ब्यायामअनुसार सेवन गर्नुपर्छ । कोही व्यक्तिको शरीर अलि बढी चलायमान छ भने एक/दुई पिस बढी खाँदा त्यति धेरै फरक पर्दैन । तर, बसिरहने व्यक्तिहरूको शरीरलाई धेरै मासु सेवन गर्दा पचाउन गाह्रो पर्छ ।
कसैलाई पखाला लाग्न पनि सक्छ । कसैलाई कब्जियत हुन सक्छ । त्यसैले हरेक व्यक्तिले आफ्नो जीवनशैलीअनुसार खानेकुरा कसरी खाने भनेर विचार पुर्याउनुपर्छ ।