पतिपत्नीबीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।
दाम्पत्य जीवनमा दरार पैदा हुने तथा सम्बन्ध विच्छेद हुने कुरा कलिहेकाही हाम्रो काबुमा पनि नरहन सक्छ । कहिलेकाही बिहे भएको दशकौं पछि पनि डिभोर्स भएको हुन्छ । तर, कहिलेकाही क्षणभरमै सम्बन्ध विच्छेद पनि हुनसक्छ। हालै कुवतेमा एउटा यस्तै घटना भएको छ, जहाँ बिहे गरेको केवल ३ मिनेटमै सम्बन्ध विच्छेद भएको छ ।
समाचार अनुसार अदालतमा आधिकारिक रुपमा बिहे गरेर इजलास कक्षबाट बाहिर निस्किने क्रममा बेहुलीको खुट्टा लडखडायो र उनी भुईंमा लडिन् । लडेकी बेहुलीलाई उठाउनुको साटो बेहुला रिसाए र चिच्याउँदै भने – मुर्ख ।
भर्खरै बिहे गरेको आफ्नो पतिले त्यस्तो बचन बोलेको सुन्दा बेहुलीलाई पनि रिस उठ्यो र उनले तत्कालै न्यायाधीशलाई भर्खरै भएको आफ्नो बिहे रद्द गरिदिन अनुरोध गरिन् ।
बेहुलीको अनुरोधमा न्यायाधीश सहमत भए र उनको बिहे कायम गरेको ३ मिनेटमै रद्द गरिदिए । यसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध भनिएको छ ।
वास्तवमा यो घटना सन् २०१९ मै भएको रहेछ र अहिले आएर सोसल मिडियामा भाइरल बनिरहेको छ।स्मरण रहोस् यसअघि सन् २००४ मा बेलायतमा एक जोडीले बिहे गरेको ९० मिनेटमै डिभोर्स ग्रेका थिए ।