आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ?
नेपाली समाजमा एउटा भनाई छ, विवाह र मृत्यु मान्छेको हातमा छैन । कतिले चाहेर पनि विवाहको मेलोमेसो मिलाउन सक्दैनन् । कतिले अनायसै जोडी बाध्छन् । अतः विवाहअघि जसरी कल्पना गरिएको हुन्छ, त्यस अनुरुप जीवनसाथी मिल्छ भन्ने कुनै टुंगो हुँदैन । आफुले बनाएको मापदण्ड अनुसारको जीवनसाथी फेला पर्छ ? निश्चित छैन ।
यद्यपि जो कोहीले आफुसँग सम्पूर्ण जीवन विताउने साथीको परिकल्पना गरेका हुन्छन् । उनीहरुले कस्तो जीवनसाथी खोज्छन् त ?
आफ्नो ख्याल राख्ने
विवाहपछि सबैकुरा ठीकठाक मिल्छ भन्ने हुन्न । कतिपय कुरामा आपसी मतभेद हुन्छ । झगडा हुन्छ । यस्ता वाधा–अवरोधहरुले नै दाम्पत्य सम्बन्धलाई अरु परिपक्क बनाउँदै लान्छ । अतः यस किसिमको उतारचढावमा पनि आफुलाई समान रुपमा प्रेम गर्ने । सुखदुःमा साथ दिने, भावना बुझ्ने जीवनसाथी होस् भन्ने अपेक्षा राखिन्छ । जुनसुकै प्रतिकुलतामा समेत आफुलाई ख्याल राख्ने जीवनसाथी खोज्ने गरिन्छ ।
हंसमुख एवं ख्यालठट्टा गर्ने
धेरै गंभिर वा संवेदनशिल मान्छेसँग जीवन विताउन त्यती सहज हुँदैन । त्यसैले युवायुवतीहरु यस्तो जीवनसाथीको अपेक्षा गर्छन्, जो हँसमुख होस् । ख्यालठट्टा गर्ने स्वभावको होस् । घर परिवारको माहौललाई रमाइलो बनाइराख्ने स्वभावको होस् । यद्यपि परिवारप्रति गैरजिम्मेवार भने होइन ।
सहयोगी
घर-परिवार चलाउनका लागि श्रीमान र श्रीमतीको उत्तिकै दायित्व हुन्छ । उनीहरुले आ–आफ्नै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । श्रीमानको काम श्रीमतीले गर्नुपर्छ भन्ने होइन । श्रीमतीको काम श्रीमानले पुरा गरिदिनुपर्छ भन्ने पनि छैन । उनीहरुको काम फरक हुन्छ, यद्यपि त्यो घर–परिवारकै निम्ति हुन्छ । यस किसिमको काममा दुबैको साथसहयोग जरुरी हुन्छ ।
सभ्य र समझदार
युवायुवतीहरु आफ्नो जीवनसाथी सभ्य र समझदार होस् भन्ने चाहन्छन् । मान्छे सबै कुरामा पोख्त हुँदैनन् । सबै कुरामा अब्बल हुँदैनन् । मान्छेको कमी कमजोरी हुन्छ । यस्ता कमी कमजोरीलाई स्वीकारेर हार्दिकतापूर्वक सम्बन्ध कायम राख्ने जीवनसाथी चाहन्छन् युवायुवतीहरु ।
आर्थिक सुरक्षा
घर-परिवार भावनाले मात्र चल्दैन । भौतिक आवश्यक्ताहरु पुरा गर्नका लागि आर्थिक कुराले उत्तिकै महत्व राख्छ । त्यसैले दिगो आयस्रोत भएकाहरुमाथि उनीहरु बढी भर पर्छन् । यद्यपि आयस्रोतको माध्याम भएर मात्र पुग्दैन, त्यसको व्यवस्थापन अरु बढी महत्वपूर्ण हुन्छ ।