खुट्टा सामान्य सुन्निने समस्या त धेरैमा देखिन्छ । लामो दूरीको बस वा हवाईजहाजमा यात्रा गर्दा, लामो समय उभिएर यात्रा वा काम गर्दा, कीराले टोक्दा, लड्दा, कतै ठोक्किएर लाग्ने चोटपटक लाग्दा, हड्डी भाँचिंदा खुट्टा सुन्निन्छ । गर्भावस्थामा महिलाको खुट्टा पनि सुन्निन्छ । सीमित अवधिसम्म हुने यस्ता समस्या सामान्य नै हुन्, जुन केही समयपछि आफैं निको हुन्छ ।
तर कतिपय अवस्थामा विना चोटपटक मुटु, मिर्गौला र कलेजो जस्ता अंगमा समस्या आउँदा दिनहुँजसो खुट्टा सुन्निनुका साथै अन्य लक्षण देखिन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने कारण पत्ता लगाउन तुरुन्त परीक्षण गराइहाल्नुपर्छ ।
खुट्टा सुन्निएको कसरी थाहा पाउने ?
सामान्यतया रक्तसञ्चार राम्रोसँग नहुँदा खुट्टा सुन्निन्छ । खुट्टाको हड्डी वा गोलीगाँठो माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो परेको देखिन्छ । यस्तोमा जुत्ता लगाउँदा कठिन हुने, हिंड्न असहज हुने र दुखाइ पनि हुनसक्छ ।
यी रोगको संकेत हुनसक्छ
डिप भेन थ्रोमब्रोसिस
सामान्यतया खुट्टा दुवै सुन्निने गर्छ । तर एउटा मात्र खुट्टा बारम्बार सुन्निरहन्छ भने रक्तनलीमा समस्या भएको संकेत हुनसक्छ, जसलाई डिपभेन थ्रोमब्रोसिस भनिन्छ । डिपभेन थ्रोमब्रोसिस भनेको नसामा रगत जम्ने समस्या हो । जो शरीरको जुनुसुकै भागमा हुनसक्छ ।तर धेरैजसो अवस्थामा यो शरीरको तल्लो भागहरू तिघ्रा वा खुट्टामा देखिन्छ । खुट्टाको नसामा रगत जमेको खण्डमा रगत प्रवाह हुन पाउँदैन । यसले रगतलाई मुटुमा फर्काउनबाट रोक्न गई खुट्टा सुनिन्छ ।
यस्तो संकेत देखिएमा स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ । चिकित्सकले लक्षण हेरी शंकास्पद लागेमा डुप्लेक्स अल्ट्रासोनोग्राफी, भेनोग्राफी र रगत परीक्षण गरी जाँच गर्न सक्छन् ।
मुटुमा समस्या
मुटुमा समस्या हुँदा पनि खुट्टा सुन्निन सक्छ । खुट्टा सुन्निनेसँगै राति सास फेर्न गाह्रो हुने, हिंड्दा स्याँ स्याँ हुने समस्या हुनु मुटुरोगको संकेत हुनसक्छ । वास्तवमा मुटुले २४ घण्टा नै रगत पम्प गरिरहेको हुन्छ । कुनै कारणवश मुटुमा समस्या भई मुटुले पम्प गर्न सकेन भने शरीरको तल्लो भागहरुमा तरल पदार्थ जम्मा भई खुट्टा र औंलाहरूमा सुन्निन सक्छ ।
तसर्थ, यी लक्षण देखिएमा इको र ईसीजीबाट मुटुको समस्याबारे पत्ता लाग्न सक्छ ।
बाथरोग
बाथको समस्या हुनेहरुको जोर्नीमा युरिक एसिड नामक क्रिस्टल (ढुंगा) जम्मा हुन्छ, जसले खुट्टामा अत्याधिक दुखाइका साथै सुन्निने समस्या हुन्छ । सामान्यतया खुट्टाको बूढीऔंलामा बढी दुखाइ हुन्छ । यद्यपि, यो रोगको उपचार छैन । जीवनशैली सन्तुलनमा राखेर नियन्त्रण गर्न सकिन्छ ।
मिर्गौलामा समस्या
खुट्टा सुन्निनुको अर्को कारण हुनसक्छ मिर्गौलामा समस्या । जब मिर्गौलामा सोडियम सही मात्रामा पुग्दैन । मिर्गौलाले राम्रोसँग आफनो कार्य गर्न सक्दैन । मिर्गौलाले काम गर्न नसके खुटटा सुन्निनुका साथै सास फेर्न कठिन हुनु, पिसाब कम लाग्नु, बिहान उठ्दा आँखा र मुख सुन्निनसक्छ ।
यस्ता लक्षण देखिएमा मिर्गौलासम्बन्धी समस्या हो कि होइन भनेर पहिचान गर्न पिसाब र रगतको परीक्षण गराउनुपर्छ ।
कलेजोमा समस्या
कहिलेकाहीं कलेजोले एल्बुमिन नामक प्रोटिन उत्पादन गर्न बन्द गर्छ । यो एक प्रोटिन हो जसले रक्तनलीबाट रगत चुहिनबाट रोक्छ । यदि शरीरमा यो प्रोटिनको कमी छ भने रक्तनलीबाट रगत बग्न सक्छ । जसकारण खुट्टामा तरल पदार्थ जम्मा हुन्छ र खुट्टा सुन्निन्छ ।
खुट्टा सुन्निएसँगै जन्डिस, चोटपटक लाग्ने, भोक नलाग्ने, पिसाबको रङ परिवर्तन हुने, शरीरमा ऊर्जाको कमी हुने जस्ता लक्षणहरू महसुस हुन्छ भने कलेजो परीक्षण गराउनुपर्छ । यस्तो समस्या प्राय: धेरै रक्सी खानेमा देखिन्छ । उनीहरुमा कलेजो बिग्रिएर खुट्टा सुन्निनुका साथै पेट र फोक्सोमा पानी जम्ने समस्या देखिन्छ ।
भेरीकोज भेन
भेरीकोज भेन अर्थात् नसा फुल्ने समस्या हुँदा पनि खुट्टा सुन्निछ । यो समस्याले कुनै पनि शरीरको नसामा प्रभाव पार्छ । तर सबैभन्दा बढी खुट्टाको पन्जामा असर देखाउँछ । जसकारण खुटटा सुन्निने, दुख्ने र हेर्दा नसा मोटो आकारमा फुलेको देखिन्छ ।
प्राय: लामो समयसम्म उभिएर बस्ने पेसा जस्तै, नर्स, शिक्षक, प्रहरी, ट्रफिक, सुरक्षागार्ड, वेटरमा यो समस्या देखिनसक्छ ।यस्तो समस्या देखिए तुरुन्तै परीक्षण गराउनुपर्छ । किनकि भेरीकोज भेनको जति छिटो पहिचान भयो, त्यति छिटो उपचार र निको हुने सम्भावना रहन्छ ।